सानै उमेरदेखि पढाइको सीपमा अब्बल भएका विद्यार्थीहरू अन्य विषयहरूमा पनि राम्रो भएका देखिन्छन् । भाषासँग सम्बन्धित चार सीपमध्ये सुनाइ, बोलाइ र पढाइको सीपमा सुरुवाती वर्षहरूमै अब्बल विद्यार्थीहरू पछि गएर लेखनको सिपमा तथा समग्र विद्यालय जीवनमै सफल हुने तथ्याङ्कहरूले देखाउँछ ।
मिदेश महर्जन
“To him that hath, more shall be given; and from him that hath not, the little that he hath shall be taken away”
बाइवलमा कतै यस्तो लेखिएको छ । यस वाक्यले बोकेको सन्देशलाई समाजशास्त्री रबर्ट किंङ मेर्टनले ‘मेथ्युको प्रभाव’ वा ‘मेथ्युको सिद्धान्त’ भनी नामाकरण गरे । विद्यमान स्रोत साधनहरूको असमान वितरण तथा पहुँचका कारण कुनै व्यक्ति वा समुदाय कसरी समग्रमा लाभाम्भित हुन्छन् र समाजमा रहेका धनी र गरिबबीचको दूरी कसरी बढ्दै गइरहेको हुन्छ भन्ने व्याख्या गर्नका निम्ति उनले ‘मेथ्युको प्रभाव’को अवधारणालाई समाजशास्त्रमा प्रयोगमा ल्याएका हुन् । संक्षेपमा भन्नुपर्दा समाजमा गरिब कसरी गरिब र धनी कसरी धनी नै रहिरहन्छ भन्ने तथ्य प्रष्ट पार्न मेथ्युको प्रभावको अवधारणा महत्वपूर्ण हुन आउँछ ।
मेथ्युको प्रभावलाई शिक्षाको सन्दर्भमा पनि जोडेर हेर्न सिकिन्छ । शिक्षा क्षेत्रमा ‘मेथ्युको प्रभाव’ अवधारणालाई मनोविज्ञ केथ स्टानोविचले प्रयोगमा ल्याएका हुन् । भर्खरै पढ्न सिक्दै गर्नेहरूले कसरी पढाइको सीप हासिल गर्छन् भन्ने आफ्नो अध्ययनलाई व्याख्या गर्न उनले मेथ्युको प्रभावलाई जोडेका छन् । उनका अनुसार ८ देखि १० वर्ष सम्ममा जुन बालबालिकाहरूले पढाइको सीप प्रभावकारी रुपमा प्राप्त गर्न सक्छन्, उनीहरू पछि गएर सफल पाठकको रूपमा स्थापित हुन्छन् । त्यस्तै, जुन बालबालिकाहरूले पढाइको सीप प्रभावकारी रुपमा प्राप्त गर्न सक्दैनन, उनीहरू पछि गएर पाठकको रूपमा स्थापित हुन सक्दैनन् र फलस्वरुप पढाइसँग सम्बन्धित अन्य सीपहरू सिक्नमा पनि उनीहरूलाई समस्या पर्छ ।
सानै उमेरदेखि पढाइको सीपमा अब्बल भएका विद्यार्थीहरू अन्य विषयहरूमा पनि राम्रो भएका देखिन्छन् ।1 पढाइको सीप भन्नाले यहाँ भाषाका सीपहरूलाई जनाउन खोजिएको हो । भाषासँग सम्बन्धित चार सीपमध्ये सुनाइ, बोलाइ र पढाइको सीपमा सुरुवाती वर्षहरूमै अब्बल विद्यार्थीहरू पछि गएर लेखनको सिपमा तथा समग्र विद्यालय जीवनमै सफल हुने तथ्याङ्कहरूले देखाउँछ ।2 शुरूवाती अवस्थामै यी सीपहरूमा पछाडि पर्न गएमा वा सोसँग सम्बन्धित उपचारात्मक सहयोग नपाएमा विद्यार्थीहरू समग्र पठनपाठनमै पछाडि पर्दै जाने गर्दछन् र अध्ययनको सिङ्गो प्रक्रियामा रमाउन सक्दैनन् ।3 नबुझ्दा र रमाउन नसक्दा उनीहरूमा पढ्ने जाँगर नचल्दा थोरै पढ्छन्, र यसकारण आफ्नो उमेरमा सिक्नुपर्ने कुराहरू थोरै सिक्छन् । यसले उनीहरूको शब्दभण्डारमा कमी ल्याउँछ । त्यस्तै, पढेका सामग्रीबाट आफूलाई आवश्यक जानकारीहरू प्राप्त गर्न सक्दैनन् । र, अन्तमा सिङ्गो अध्ययन प्रक्रियाबाटै विरक्तिएर अध्ययन नै छोड्न समेत पछि पर्दैनन् ।4
कुरा ३-४ वर्ष अघिको हो; सन्दर्भ हो, प्रारम्भिक तहका बालबालिकाहरूको पढाइको सीप मापनका निम्ति कर्णालीका विभिन्न विद्यालयहरूमा पुगेका हामी । पुगेका विद्यालयहरूमध्ये मुगुको सदरमुकाम गमगढी नजिकै रहेको एक आधारभूत विद्यालयको अवस्था चित्रण गर्नैपर्ने देखिन्छ । उक्त विद्यलायमा अध्ययनरत कक्षा ८ का अधिकांश विद्यार्थीहरूले नेपाली वर्णमालाका आधा अक्षरहरू पढ्न नसक्दा पाठ राम्ररी पढ्न सकेनन् र पढेका कुराहरू बोध गर्न सकेनन् । सम्भवत: उनीहरूले पढ्न सिक्ने उमेरमा पढ्न सिक्न पाएनन् होला र त आज पढेर अन्य विभिन्न सीप सिक्नुपर्ने उमेरमा पढ्नै जानेनन् । उनीहरूले सुन्ने सीपको विकास गर्ने समयमा सुन्ने मौका पाएनन् होला, बोल्ने सीप विकास गर्ने समयमा बोल्ने मौका पाएनन् होला, र पढ्ने सीप विकास गर्ने समयमा पढ्ने मौका नै पाएनन् होला ।
नेपाली भाषा र लिपि पढ्न र बुझ्न नै कठिन हुने यी भाइबहिनीहरूले विज्ञानका अवधारणाहरू कसरी बुझुन् ? सामाजिक अध्ययनका अवधारणाहरू कसरी बुझुन् ? गणितका अवधारणाहरू कसरी बुझुन् ? अन्य विषयका अवधारणाहरू कसरी बुझुन् ? जब विद्यार्थीलाई पढाइमा कठिनाइ भइ उसले पढाइबोध गर्न सक्दैन, तब कुनै पनि विषय कठिन लाग्नु र त्यस विषयमाथिको रूचि हराँउदै जानु स्वभाविक हो । कर्णालीका ती भाइबहिनीहरू आज कहाँ छन्, त्यो त मलाई थाहा छैन । तर मेरो अनुमान, एकाधले बाहेक अधिकांशले पढाइ छोडिसके होलान् ।
समाजमा धनी अझ धनी भएर गए झैं विद्यालय जीवनमा पनि पढाइको सीपमा अब्बल विद्यार्थी सिङ्गो अध्ययन प्रक्रियामा अब्बल भइ एक अब्बल पाठकका रूपमा हुर्कंदै जाने संभावना बढी रहन्छ । बोध गर्नसक्ने क्षमता सहितको पाठक भएकै कारण उनीहरूले नयाँ कुरा तथा सीपहरू सिक्न सक्ने संभावना पनि बढी रहन्छ । राम्रो बुझाइ, नयाँ सीपहरूप्रति तथा अध्ययनमा बढ्दै गएको रूचिका कारण उनीहरूले विद्यालाय शिक्षा राम्रोसँग पूरा गर्ने संभावन बढी रहन्छ । राम्रो शिक्षा तथा सीपहरूका कारण उनीहरूले राम्रो काम गर्ने वा गर्न पाउने संभावना प्रवल रहन्छ । र अन्तत, एउटा समुन्नत जीवन व्यतीत गर्ने संभावना पनि त्यतिकै राख्दछन् ।
यसको उल्टो, गरिव झन गरिव भएर गएझैं विद्यालय जीवनमा पढाइ सिपमा कमजोर विद्यार्थीहरू अध्ययनको सिङ्गो प्रक्रियाबाट टाढिँदै जानेदेखि लिएर अन्तमा कठिन जीवन बिताउनुपर्ने संभावना रहुनु पनि उत्तिकै सत्य हो ।
सिङ्गो अध्ययन प्रक्रियाको जग पढाइको सीप हो । तसर्थ, जीवनपर्यन्त अध्ययनशील व्यक्तित्वको रूपमा स्थापित गर्न आफ्ना नानीहरूलाई सानैदेखि पढ्नमा रूचि जागाउनु हाम्रो जिम्मेवारी हुन्छ ।
1, 2 Gove, A. and A. Wetterberg. 2011. The Early Grade Reading Assessment: Applications and Interventions to Improve Basic Literacy. Research Triangle Park, NC, USA: Research Triangle Institute.
3, 4 Stanovich, K. 1986. Matthew Effects in Reading: Some Consequences of Individual Differences in the Acquisition of Literacy. Reading Research Quarterly. 11 (4).