संरक्षणको  पर्खाइमा याक वहा: (जीवधर्म महाविहार )

Blog image

कीर्तिपुर नगरस्थित बिभिन्न पुरातात्विक महत्वका वहा: हरू मध्ये एक हो याक वहा:।  कीर्तिपुर नगरपालिका  वडा न १० ,  मान: टोलमा अवस्थित यस वहा: लाई संस्कृतमा जीवधर्म महाविहार भनिन्छ। 

नेपाल सम्बत ८०६ मा राखिएको एक शिलापत्र अनुसार यस वहा:को  उदघाटन पाटनका राजा सिद्धिनरसिंह मल्लको उपस्थितिमा नेपाल सम्बत ७६७  जेष्ठ कृष्ण चतुर्दशीका दिन गरिएको थियो।  यसबारे सुक्रसागर श्रेष्ठद्वारा लिखित पुस्तक “ किर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास” मा उल्लेखित छ।

वहा:को बिच भागमा सानो चोक छ।  जहाँ छिर्न दुईवटा ढोकाहरु छन्।  एउटा ढोका मान: टोल हुँदै  ल्हों: देग  जाने बाटो पट्टी उत्तर-पश्चिम दिशामा छ भने अर्को पूर्व पश्चिम दिशामा रहेको छ। 

यस वहा:को मुख्य आगमघर दुई  तलाको छ ।   यस घरको प्रवेशद्वारमा दुईवटा सिंह र हात्ती रहेका छन् । कलात्मक पासुका झ्याल र ढोका यस घरको मुख्य आकर्षण हो। आगमघर अगाडि  शिखर्कुट चैत्य र धर्मधातु मण्डल छ भने आगमघरभित्र विभिन्न देवीदेवताका मूर्तिहरू राखिएका छन्।


यस्तो पुरातात्विक महत्व बोकेको वहा: दशकौंदेखि अपहेलित रुपमा रहेको छ।  छाना चुहिएर  वर्षातमा  पानी समेत पस्ने गरेको र झन्-झन् जिर्ण बन्दै गएको छ ।  जीर्ण भएको यस वहा: लाई संरक्षण गर्न विभिन्न निकाय,  सरोकारवालासँग धेरैचोटी पहल गर्दा पनि सुनुवाई नभएको स्थानीयहरु बताउँछन्। 

यस वहा:को पुनर्निर्माण गरी प्रचार प्रसार गरिएमा कीर्तिपुर आउने पर्यटक, अध्ययन/अनुसन्धान गर्ने विद्यार्थीहरूका लागि एउटा रोचक गन्तव्य थपिने  थियो।



Related Post

Click image for details